२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी


364
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको छ ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद तथा गृहमन्त्री पद गुमाएको रास्वपा सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने अन्यौलमा परेको छ । सोही विषयमा निर्णय लिन रास्वपाको बैठक केही समय अघि सुरू भएको हो ।

बैठकले अन्यौल अन्त्य गर्ने दाबी सो पार्टीका अध्यक्ष लामिछानेले गर्नुभएको छ ।

लामिछानेले पार्टी बैठक लगत्तै पत्रकार सम्मेलन गरी आफ्नो विषयमा उठेका आशंकाहरु मेटाउने पनि बताउनुभएको छ ।

सो पार्टीले गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय दिएको थियो । तर, शनिबारको बैठक पनि कुनै निर्णयमा पुग्न नसकेपछि बैठक आइतबारका लागि सारिएको थियो ।

यसैबीच, रास्वपा सभापति लामिछानेले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच बिहान सात बजेदेखि आठ बजेसम्म एक घण्टा वार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँगको वार्तालगत्तै लामिछाने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो ।