Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सिक्टा सिँचाइमा चरम लापरबाही, यस्तो छ अवस्था (भिडियो)


0
Shares

नरेन्द्र थापा (इमेज)

नेपालगन्ज, भदौ १३ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर परीक्षणकैक्रममा भत्किएपछि निर्माण कम्पनीमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ ।

दुई वर्षअघि ढकेरीको झिँझरी खोलाछेउ भत्किएको मूल नहर गत साउनमा चंगाई नालानजिक परीक्षणकाक्रममा भत्किएपछि निर्माणको गुणस्तरमा चौतर्फी आवाज उठेको हो ।

सरकारको लगानीमा निर्माणाधीन बहुउद्देश्यीय सिक्टा सिँचाइ आयोजना निर्माण सुरु गरिएको १२ वर्ष बितिसकेको छ । १४ अर्ब ७० करोड रुपैयाँ रकम त खर्च नै भइसकेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम भने गुणस्तरहीन देखिएको छ । काम सम्पन्न नगर्दै नहर ठाउँठाउँमा फुटेको छ ।

सीटीसीइ कालिका जेभीले निर्माण गरेको पश्चिम मूल नहर दुई वर्षअघि परीक्षणकैक्रममा भत्किएपनि त्यसमाथि छानबिन र कारबाही नगर्दा फेरि गत साउन ७ गते ढकेरीस्थित चंगाई नालानजिक पश्चिम मूल नहर परीक्षणकैक्रममा भत्किएको छ ।

चौतर्फी आवाज उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थलगत अध्ययन गरेको छ ।

मन्त्रालयको छानबिन टोलीले सिक्टाको स्थलगत अध्ययन गरी राप्ती–सोनारीका जनप्रतिनिधिसँग छलफल गरेको छ भने अख्तियारको टोलीले स्थलगत अनुगमन नै गरेको छ ।

राप्ती–सोनारी–९, ढकेरीका स्थानीय एवं पूर्वसांसद अशोक रोकाय छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँछन् ।

त्यतिमात्रै होइन, पश्चिम मूल नहरको सुरुदेखि मध्यभागसम्म निर्मित स्लोप कतै चर्केका छन् त कतै भास्सिएका छन् ।

मानवबस्ती र जंगल हुँदै निर्मित मूल नहरको हेडवर्क्सदेखि ३५ किलोमिटर क्षेत्रसम्म नहरका स्लोप तथा साइफन पनि ठाउँठाउँमा भत्किएका छन् ।

इन्जिनियर भने सो खन्डमा घुलनशील माटो प्रयोग गरिएकाले समस्या भएको तर्क गर्छन् ।

पटक–पटक भत्कँदासमेत उचित छानबिन र दोषीलाई दन्डको दायरामा नल्याउँदा समस्या बल्झिरहेको हो ।

भिडियो हेर्नुहोस्