Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न पाउने उमेरलाई १८ वर्षमा झार्नुपर्छः पूर्वकानूनमन्त्री पौडेल


182
Shares

काठमाडाैं । पूर्व कानूनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रश्ताव राख्नुभएको छ ।

बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताउनु भयो । उहाँले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हजुरहरुले संविधानमा पनि सुधार गर्न जरुरी छ । उमेर घटाउनु पर्छ । २५ वर्ष जुन प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८ औं शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९,२० वर्षका मानिसहरु मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरुलाई आकर्षित गर्नपनि २५बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’

पूर्वमन्त्री पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताउनु भयो । उहाँले विद्युतीय निर्वाचनलाई शुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रुपमा प्रयोग गरिरहेको बताउनु भयो ।