
विनोद सिंह विष्ट
बैतडी, भदौ १३ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध बिहीबार पुनः खोलिने भएको छ । बिहीबार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने भएको हो ।
यसबर्ष मात्रै धौलीगंगा जलविद्युत परियोजनाको बाँध पाँचौं पटक खोल्न लागिएको छ ।
परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । ‘परियोजनाले बाँध खोलिने भनेर पूर्व जानकारी गराएको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन हामीले आग्रह गरेका छौं ।’
दार्चुलाको दत्तुमा बुधबार बिहान ८ बजे गरेको मापनअनुसार महाकाली नदीको सतह ४.७० मिटर छ । ५.५ मिटर पानीको सतह पुगेपछि खतरा मानिन्छ ।
बाधँको पानी खोलिदा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
२८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं. २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौंको क्षति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्