३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पहिलो पटक कपिलबस्तुमा सिभिल इञ्जिनियरिङ पठनपाठन


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, भदौ १३ । कपिलबस्तुमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ ।

जिल्लाको दक्षिणपुर्वी सिमावर्ती क्षेत्र शुद्धोधन गाउँपालिका–४, औरहियामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो । अध्ययन पश्चात् रोजगारीको अवसर प्राप्त हुने भएकाले प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षणसमेत बढ्दै गएकाले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङमा पठनपाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेयले बताए ।

घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यहॉका विद्यार्थी पनि निकै उत्साहित भएका छन् । ‘४८ वटा कोटा रहेकोमा अहिलेसम्म १३ जना विद्यार्थी भर्ना भएका छन्,’ प्रधानाध्यापक पाण्डेयले भने ।

यहाँ कपिलबस्तु, रुकुम, सल्यान, स्याङ्जा लगायतका विभिन्न जिल्लाका विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ ।

शुद्धोधन गाउँपालिकालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट बनाउन गाउँपालिकाले अधिकतम लगानी गरेको गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँनले बताए । गाउँपालिकाबाट विद्यालयमा सिभिल इन्जिनियरिङ पठनपाठनका लागि २४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनले बताए ।

चालु आव २०७५÷०७६ मा शिक्षा क्षेत्रमा ६१ लाख बजेट बिनियोजन गरिएको उनको भनाइ छ ।

सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त सिभिल इञ्जिनियरिङ कक्षा शुरु गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।

तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ शिक्षा अन्तर्गत सात विषयको पढाइ भइरहेको छ । एसईई शिक्षा पूरा गरेपछि अन्यत्र पठनपाठनका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । प्राविधिक शिक्षामा हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी) र शिक्षा विभागअन्तर्गत साधारण विद्यालयहरुमा समेत प्राविधिक शिक्षाको अध्ययन भइरहेको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ । हाल मुलुकभरका २०३ विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुँदै आएको छ ।