काठमाडौं, भदौ १२ । नेपाल पर्यटन बोर्डले ‘भिजिट नेपाल २०२०’मा जापानी पर्यटकको संख्या बढाउने विषयमा जापानी विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीसँग छलफल गरेको छ ।
‘भिजिट इअर’मा ७० हजार जापानी पर्यटक भित्र्याउने बोर्डको योजना छ ।
बोर्डले मंगलबार राजधानीमा जापानको रिक्यो विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीहरुलाई नेपालको धार्मिक एवं सांस्कृतिक सम्पदाहरुकाबारेमा जानकारी दिँदै जापानी पर्यटक बढाउन चालिनुपर्ने उपायबारे छलफल गरेको हो ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जापानी पर्यटक भित्र्याउन जापानी विद्यार्थीहरुको भूमिका हुने भन्दै सहयोगका लागि आग्रह गरे ।
उनले विद्यार्थीहरुलाई नेपालको विश्वसम्पदा सूचीमा परेका स्थानहरुकाबारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा जापानी विद्यार्थीहरुले नेपालमा सरसफाइ र ट्राफिक नियम बलियो बनाउन सुझाव दिएका थिए ।
उनीहरुले विश्वसम्पदको उचित संरक्षण गर्नसके धेरै जापानी पर्यटक आउनसक्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्