
म्याग्दी । गत पुस २८ गतेदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव शनिबार सम्पन्न भएकाे छ ।
माघे सक्रान्ति मेला एवं गण्डकी प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापार मेला उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म सञ्चालन भएकाे हाे । साेही मेलामा १० करोडको आर्थिक कारोबार भएकाे म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयाे । मेलामा अपेक्षा गरे अनुसारकै कारोबार भएको उहाँकाे तर्क छ ।

महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न संघ संस्था र जनजातिको झाँकी, भेष भूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मदत पुर्याएको महोत्सवको साँस्कृतिक विभाग संयोजक सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा र्याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल, खुला नृत्य प्रतियोगिता र फोटो प्रदर्शनी लगायतका आयोजना गरिएको थियो । मेलामा आकर्षणको रुपमा रहेको फोटो प्रदर्शनीमा १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

महोत्सव भएकाे स्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु राखिएको थियो । ति व्यापारिक स्टलहरुमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा १ करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी र १ करोड १५ लाख ७७ हजार २ सय ११ रुपैयाँ खर्च हुनुका साथै ९ लाख ९ हजार ७ सय ८९ रूपैयाँ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक ३–३ वर्षमा म्याग्दी महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले गर्नुभएको थियो ।

महोत्सवको समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गनुभयाे ।

प्रतिक्रिया दिनुहोस्