
म्याग्दी । म्याग्दीकाे कालीगण्डकी करिडोर अन्तर्गतको बेनी-जोमसोम सडककाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाे छ ।
साेही सडकाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाले निर्धारित समय भन्दा २ वर्ष ढिलो हुँदा समेत अझै सम्पन्न हुन नसकेकाे हाे । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भएपनि सडक विस्तार, उन्नत र कालोपत्रे गर्ने काम २ वर्षपछि पनि सुस्त गतिमा रहेकाे छ ।
उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरु त मारमा परेका छन् नै दुई देशीय व्यापार र अनेकौं सम्भावनाहरु पनि थलिएका छन् । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले यस सडकको कालोपत्रे गरेर काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समय सीमा दिएको छ । गलेश्वरदेखि–नारच्याङपुलसम्मको २० किलोमिटर सडक ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माण कार्यलाई ढिला सुस्ती गरेको छ ।
२०७४ जेठमा ६३ करोड ५२ लाखमा र २०७६ मंसिरमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको यस कम्पनीले पटक–पटक म्याद थपे पनि काम गर्न सकेको छैन ।
दशैं यता यो सडकको काम हुन सकेको छैन । अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पूरै ठप्प भएकाे छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखी मुस्ताङसीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्प भएकाे छ । अहिले ८–१० जना मजदुरले रिटेनिङ वाल लगाउने काम बाहेक कुनै काम गरेका छैनन् ।
बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्ड अर्न्तगत बेनी–जोमसोम ७६ किलोमिटर मध्ये मुस्ताङ तर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा अति सुस्त गतिमा काम भएको छ । दशैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर सडक निर्माणकाे काम रोकिएकाे कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयाे ।
अहिले पनि मजदुर चिसो भएकाे भन्दै काम गर्न नआएकाे उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्