२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टुँडिखेलमा यसरी मनाइयो माघे सङ्क्रान्ति पर्व (तस्बिरहरु)


117
Shares

काठमाडौं । आइतबार देशभर माघे सङ्क्रान्ति पर्व मनाइएको छ ।

मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आइतबार देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो ।

यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् ।

काठमाडौंमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । काठमाडौंको टुँडिखेल भएको सो महोत्सवमा देशभरबाट मगर समुदायको प्रतिनिधित्व रहेको छ ।

आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएका व्यक्तिहरुले महोत्सवमा रौनकता थपेका छन् । साथै महोत्सवमा मगर समुदायको आ–आफ्नो मौलिक परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण भएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव टेकबहादुर मगरले मगर समुदायको मौलिक संस्कार तथा संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । उहाँले सरकारले देशका सबै जातजातिहरुको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सूचिकृत गर्नुपर्ने बताउनुभयो । सम्बन्धित समुदायले मात्रै संरक्षण गर्न चाहेर सम्भव नहुने भन्दै उहाँले संस्कृतिहरुको संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले देशलाई आर्थिक रुपमा समृद्ध बनाउना लागि पनि मगर लागयत देशका सबै जातजातिको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । माघे सङ्क्रान्तिको अवसरमा मगर समुदाय लगायत अन्य समुदायले पनि एक–आपसमा शुभकामना साटासाट गरेर सो पर्व मनाइरहेका छन् ।

त्यस्तै, आइतबार देशभरका थारु समुदायले माघी पर्व मनाएका छन् ।

थारु समुदायले आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा पनि मनाउने गरेको छ । यस दिनमा ठूलाबडासँग आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामनासहित मिठोमसिनो खाँदै मनाउने गरिन्छ ।

पुस मसान्तको दिन सुँगुर/बँगुर जिता मार्ने, आगोको धुनि बाल्दै डफ र मादल सँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा तालतलैयामा स्थान गरिन्छ ।

स्नानपश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ । यस दिनमा थारु समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर/बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरु खाएर रमाइलो गरिन्छ । माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ ।

पुस मसान्तदेखि सुरु भएको सो महोत्सवमा थारुहरुको मौलिक पहिचान झल्कने भेषभुषासहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ । साथै महोत्सवमा मौलिक प्रकारका परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ । थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिका सदस्य तथा आर्थिक विभाग प्रमुख चन्द्रप्रसाद चौधरीले माघी महोत्सव उत्साहपूर्ण रुपमा चलिरहेको बताउनुभयो । उहाँले थारु समुदायले थारु सम्वत २६४६ नयाँ वर्षको रुपमा यस पर्वलाई मनाएको बताउनुभयो ।

उहाँले पछिल्लो पुस्ताहरुलाई पनि थारु समुदायको संस्कार, संस्कृति र रितिरिवाजहरुलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो ।