३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


रौतहट डुंगा दुर्घटनामा मर्नेको संख्या चार पुग्यो, प्रदेश सरकारद्वारा जनही दुई लाख राहत


0
Shares

रौतहट, भदौ ११ । रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ ।

उनीहरु सबैको शव भारतीय भूमिमा भेटिएको हो ।

सोमबार भेटिएका शवमा गौर नगरपालिका–४, टिकुलियाका ओमप्रकाश चन्दववंशी र गौर नगरपालिका–३, मजकुटियाका उष्मा पटेल रहेका छन् ।

यसअघि, ईशानाथ नगरपालिका–३, औरयाका रुनादेवी पटेल र गौर नगरपालिका–४, टिकुलियाका शान्तिदेवीको शव भेटिएको थियो ।

गत शनिबार ईशानाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौर आउनका लागि लालबकैया नदीमा डुंगा चढेका उनीहरु दुर्घटनामा परेका हुन् ।

पानीको सतह बढेपछि अनियन्त्रित भइ निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।

प्रदेश सरकारद्वारा जनही दुई लाख राहत

मृतक परिवारलाई प्रदेश नम्बर–२ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जनही दुई लाख रुपैयाँ राहत र क्रियाखर्च २५ हजार दिने बताएका छन् ।

यस्तै, दैवी प्रकोप उद्धार समितिले मृतकका परिवारलाई जनही एक लाख र गौर नगरपालिकालेसमेत मृतक परिवारलाई एक लाख राहत र क्रियाखर्चबापत २५ हजार दिने भएको छ ।