Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आन्दोलकाे घोषणा


39
Shares

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघले बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा सम्बन्धी निर्देशिकाको विरोध गर्दै आन्दोलनको घोषणा गरेको छ ।

चालू पूँजी कर्जा सम्बन्धी निर्देशिका २०७९ ले मुलुकमा आर्थिक संकटको प्रभाव गम्भीर रुपमा पारेको भन्दै त्यसको विरोध गरेको हो । संघले नेपाल राष्ट्र बैंक परिसरमा ब्यानर लगाएर विरोध गरेको हो । संघले पत्रकार सम्मेलन गर्दै बैंकले ल्याएको प्रावधानमा राज्य गम्भीर नभएको भन्दै आन्दोलनको विकल्प नभएको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बैंकले वर्षमा चार पटक व्यालेन्स सिट माग्ने गरेको, व्यावसायीले कर्जाको दुरुपयोग गर्छ भनेर दु:ख दिने गरेको बताउनुभयो । कर्जा वाणिज्य बैंकहरुबाट लिने उहाँले बताउनुभयाे । तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नहेर्ने व्यावसायीहरुलाई मात्रै दु:ख दिने गरेको लाठले बताउनुभयो ।

रुस–युक्रेन युद्धका कारण इन्धनमा भएको मूल्यवृद्धिले विश्व बजारमा महँगी थप बढेको अवस्थामा राष्ट्र बैंकले चालू पूँजी कर्जा निर्देशिका २०७९ ल्याएर व्यवसायीहरुलाई थप मर्कामा पारेको उद्योगीहरुको भनाइ छ । मुलुकभित्र रोजगारका अवसरहरु सिर्जना हुन नसकेको, पूँजीगत खर्च न्यून रहेको र देशको अर्थतन्त्रलाई धानिरहेको रेमिटेन्स आएको गिरावटले अर्थ व्यवस्था ओरालो लागेको व्यवसायीहरुको भनाइ छ ।

वाणिज्य संघले बैंकहरुको चर्को ब्याज दरलाई एकल विन्दुमा ल्याउनु पर्ने, बैंकको प्रिमियम दर बेस रेटको अधिकतम २० प्रतिशतसम्म थप्न पाउने व्यवस्था हुनुपर्ने, बैंकले कर्जामा बढाएको अव्यवहारिक प्रिमियम रकम फिर्ता गरिनु पर्ने, राष्ट्रिय रुपमा देखिएको आर्थिक तरलतालाई सम्बोधन गरिनुपर्ने सुझावसहितको माग राखेका छन् ।