
बासुदेव बर्मा
कपिलबस्तु, भदौ १० । कपिलबस्तुको मायादेवी गाउँपालिकाको वडा नं. ५ लाई बालविवाह मुक्त र शत प्रतिशत भर्ना वडा घोषणा गरिएको छ ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको मायादेवी गाउँपालिका–५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । साथै त्यस वडामा रहेका ५ देखि १२ बर्षका बालबालिकालाई विद्यालयमा भर्ना गराई वडालाई शत प्रतिशत भर्ना घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अतहर कमालले बालबालिकालाई शिक्षा दिनु जरुरी रहेको बताए । यो अभियान खुला दिशामुक्त जस्तै नभएर यसलाई सबैले आ–आफ्नो तर्फबाट कार्यान्वयनमा ल्याउन जरुरी रहेको उनले बताए ।
सो अवसरमा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सहसराम यादवले यो अभियानलाई कागजमा मात्र होइन व्यवहारमा ल्याउन जरुरी रहेको बताए ।
दुई वर्षको अवधिमा यस क्षेत्रमा कुनै बालविवाह नभएको भन्दै यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी कुर्मीले बताए ।
उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उप्रान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाउँदै वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले बताए ।
कार्यक्रम मायादेवी गाउँपालिका– ५ को आयोजना तथा लिडो नेपाल, सेभ द चिल्डे«न र मायादेवी गाउँपालिकाको सहयोगमा सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्