
कञ्चनपुर, भदौ १० । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार बिहान ५ घण्टाका लागि कर्फ्र्यु हटाएपछि चहलपहल देखिएको बजार अहिले सुनसान देखिएको छ ।
जनैपूर्णिमालाई लक्षित गरी बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्र्यु हटाए पनि पुनः कर्फ्र्यु लगाउँदा जनजीवन प्रभावित बनेको होे ।
सबैभन्दा बढी विद्यार्थी र डेरामा बस्नेलाई समस्या भएको भन्दै स्थानीयले कर्फ्यु हटाउन माग गरिरहेका छन् ।
यस्तै गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको आज अन्त्येष्टि गरिएको छ । शव शनिबार नै पोष्टमार्टम गरिए पनि अन्त्येष्टि हुन सकेको थिएन ।
उता, गृहमन्त्रालयद्वारा गठित उच्चस्तरिय छानबिन समितिले अनुसन्धानलाई अगाडी बढाएको छ । छानबिन समितिले बम दिदीबहिनीको घर, घटनास्थलको अवलोकन गरेको छ भने निर्मलाको परिवार तथा स्थानीयसँग छलफल समेत गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यलयले जनजीवनलाई मध्यनजर गर्दै कर्फ्युको अवधिलाई विस्तारै घटाउदै लैजाने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
शुक्रबारको झडपसँगै महेन्द्रनगरको स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्