३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सोलुखुम्बु आगलागी अपडेट: ४ करोड ७२ लाख क्षति


52
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ काे नेले बजारमा भएको आगलागीमा ४ करोड ७२ लाख बराबरको क्षति भएको छ ।

मंगलबार साँझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरू भएकाे आगलागीमा ५ वटा घर जलेर नष्ट हुँदा ४ करोड ७२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रणय राईको घरमा सामान्य क्षति पुगेको समेत उहाँले बताउनुभयाे ।

आगलागीबाट ढुङ्गा माटोले बनेको र टिनको छानो भएको रमेश बस्नेतको तीन तले घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रुपमा जल्दा १ करोड ५० लाख रूपैयाँ बराबरको क्षति भएको हो । बुद्धिबहादुर कार्कीको ढुङ्गा माटोले बनेको र टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबर रूपैयाँ क्षति भएको छ ।

त्यस्तै, गणेश बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुँदा १ करोड रूपैयाँकाे क्षति भएकाे छ । कल्पना बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको ३ तले घरसहित भित्र रहेको फेन्सी पसल र मोबाइल पसल जल्दा १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो।

त्यसैगरी प्रणय राईको ३ तले पक्की घरमा सामान्य क्षति पुग्दा २ लाख रूपैयाँ बराबरको क्षति भएको छ । मंगलबार साँझ साढे ५ बजेबाट सुरू भएको आगो सोलुदूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासी लगायतको पहलमा राति ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।