
-प्रकाश मैनाली/ईमेज:
सर्लाही । प्रदेश नम्बर २ अन्तर्गत सर्लाही जिल्लामा करिब २५ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेको देखिएको छ ।
जिल्लाको गौडेता नगरपालिकाले भने बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन विशेष योजना ल्याएको छ ।
चालु शैक्षिक वर्षको सुरुमा विद्यार्थी भर्नाको महाअभियान सुरु भएको थियो ।
सकेसम्म सबै विद्यार्थीलाई विद्यालयमा पुर्याउने उद्देश्यले थालिएको अभियानले सर्वत्र चर्चा पनि पाएको थियो ।
तर भर्ना भएका बालबालिकामध्ये कसैले त विद्यालय नै छाडिसके भने कतिपयलाई विद्यालयमा टिकाउनै समस्या छ ।
जसले केही सुधार भएपनि अपेक्षित उपलब्धि हासिल नभएको देखिएको छ ।
प्रदेश नं. २ मा एक लाख ५३ हजार ८ सय ९ जना बालबालिका विद्यालय बाहिर छन् ।
जसमध्ये सर्लाहीमा मात्रै २५ हजार ५ सय १५ जना बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ ।
जसमा डोम र अन्य दलित समुदायका बालबालिका विद्यालय भर्ना नभएकाले, उनीहरुलाई शिक्षामा आकर्षित गर्न सर्लाहीको गौडेता नगरपालिकाले भने विशेष योजना ल्याएको छ ।
छोराछोरी पढाउने डोम समुदायका बालबालिकालाई नगरपालिकाले प्रोत्साहन स्वरुप १० लाखको घर र शौचालय बनाइदिने योजना रहेको गौडेताका नगर प्रमुख देवेन्द्र कुमार यादव बताउँछन् ।
शिक्षाबाट कोही पनि बञ्चित नहुन् भन्दै केही गैर सरकारी निकायबाट समेत यस अभियानमा साथ दिइरहेका छन् ।
सर्लाहीको लालबन्दीमा रहेको बाल संरक्षण संस्थाकी उपाध्यक्ष मुना उपाध्याय इटाभट्टामा काम गर्ने करिब चार हजार बालबालिकालाई विद्यालय भर्ना गरेको र ३ हजारलाई छात्रवृत्ति दिइएको बताउँछिन् ।
शिक्षा पाउनु सबैको अधिकार हो यसबाट कसैलाई पनि विमुख पार्नु हुँदैन । यसमा अभिभावक शिक्षक र अन्य सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।
शिक्षामा सबै बालबालिकाको सहभागिता भएमात्र शिक्षामा राज्यले गरेको लगानी सदुपयोग हुने र बालबालिकाको भविष्यसमेत उज्वल बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्