
म्याग्दी । म्याग्दीका दीर्घरोगी र विपन्न बिरामीहरुको सहारा बनेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा पत्रकार हरिकृष्ण गौतमको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ ।
शनिबार भएको अधिवेशनबाट पत्रकार गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्ष लोकबहादुर पुन, महासचिव बिनय श्रेष्ठ, कोषाध्यक्ष सन्दीप खत्री, सचिव दिपक श्रेष्ठ र सह कोषाध्यक्षमा डिलकुमारी पूर्जा सर्वसम्मत रूपमा निर्वाचित भएकाे छन् ।
त्यस्तै, सदस्यहरुमा सान्तोष गौतम, कृष्णबहादुर जिसी, टकसरा राना, नन्दकुमार पाईजा, सचिन शाक्य, मिनाकुमारी राम्जाली, कमल खत्री र नेत्रराज सुवेदी चयन भएकाे निर्वाचन समितिका प्रमुख दिलिप पुनले बताउनुभयो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले जिल्लाभित्रका निम्न आयस्तर भएका २ सय ७९ जना बिरामीको उपचारका लागि साढे २ करोड रूपैयाँ भन्दा बढी रकम सहायता उपलब्ध गराएको छ ।
म्याग्दीको बेनीमा रहेको सोही संस्थाले स्थापनाकालदेखि हालसम्म म्याग्दीभित्रका २ सय ७९ जना निम्न आयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रूपैयाँ ८६ पैसा उपलब्ध गराएको हो । संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा संस्थाका अध्यक्ष राजेश शाक्यले ओमकुमारी शान्ति कोषले आफ्नो कोषमा रहेको रकम एवं बिरामीको उपचार अभियानमार्फत संकलन गरेर सो रकम उपलब्ध गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘हालसम्म संस्थाले आफ्नो कोषबाट ४८ लाख ५७ हजार ५ सय ३१ रूपैयाँ र बिरामी बचाउ अभियान मार्फत दाताबाट संकलन गरेर २ करोड ५ लाख ६१ हजार ५ सय ३३ रुपियाँ ८६ पैसा सहयोग गरेको छ ।’ आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाच्न जान्यो’ मूल नाराका साथ २०७१ सालमा यो संस्था स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्