
काठमाडाैं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो ।
नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताउनुभयो ।
उहाँका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीलाई निकै समस्या भएकाले अहिले अस्पतालले डायलेसिस सेवा सुरु गरेको हो । डायलेसिसका केही मेसिन बिग्रेकाले उक्त मेसिन पनि मर्मत गरी सेवामा ल्याउने उहाँको भनाइ छ ।
६ वटा मेसिन सेवाका लागि सञ्चालनमा ल्याइएको कर्मचारी संगठनका निवर्तमान सभापति कुश्माखर बस्यालले जानकारी दिनुभयो । कुश्माखरका अनुसार डायलेसिस सेवाका लागि ल्याइएको मेसिनले बिरामीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्