३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौं: मुख्य प्रशिक्षक भट्ट


104
Shares

काठमाडाैं । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउने भएकाे छ ।

बंगलादेशको ढाकामा आगामी पुसकाे पहिलो सातादेखि आयोजना हुने काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपलाई अहिले युवा टोलीले तयारीलाई तीब्रता दिइरहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागि हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण गराइरहेका छन् । पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तिमा पनि पदक रहेको छ ।

बंगलादेशको ढाकामा आगामी पुस ५ गतेदेखि ११ गतेसम्म काभा यु–२३ प्रतियोगिता आयोजना हुने भएकाे छ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद् नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तीब्रता दिइरहेको हो । पहिलो पटक सहभागिता जनाउने लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो ।

आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लिन छ । नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरेका छन् । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थापनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको मुख्य प्रशिक्षक भट्टले बताएका छन् । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने उनले बताएका हुन् ।

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपाल भन्दा बलियो भएपनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिष्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाई छ ।

चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको भएको उनले बताएका छन् । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसाबमा पहिलो भएकाले कम्तिमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी छन् । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने बताउनु भयो ।

चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने भएकाे छ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ ।

जस अन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुने भएकाे छ । नेपाल कम्तिमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुने भएकाे छ ।

अन्तिम १४ सदस्यीय टोलीमा धिरजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराउ, विष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीम राज गुरुङ (लिबेरो) रहेका छन् ।