Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यकः अध्यक्ष सिंह


52
Shares

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडाैंमा आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसमा प्रभातफेरी कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता आम नागरिक र निर्माण व्यवसायीहरुलाई रहेको बताउनुभयो । उहाँले कोरोना भाइरस, रुस-युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण पनि निर्माण व्यवसाय संकटमा रहेको बताउनुभयो ।

अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा पूँजी सञ्चालन गरी निर्माण उद्योगले प्राप्त गरेको सार्वजनिक खरिद ऐनमा व्यवस्था भए अनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाईका साथ लागू गर्नुपर्ने र निर्माण व्यवसायीले दिएको बिलको तुरुन्त भुक्तानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भूक्तानीमा ढिलाइ हुँदा पूर्वाधार विकासले तीब्रता लिन नसकेको भन्दै अर्थतन्त्रलाई चलायमान गर्न निर्माण उद्योगलाई चलायमान गर्नुपर्ने बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघले आज १५ औं निर्माण दिवस मनाएको छ । निर्माण दिवसको अवसरमा महासंघले प्रभातफेरी पनि गरेको थियो । उनीहरु निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण गर, मूल्य समायोजन निर्देशिका भाग २ जारी गर, पूर्वाधार निर्माण दिगो विकासको आधार, निर्माणबाट नै समृद्धि लगायतका प्लेकार्डहरु बोकेर प्रभातफेरीमा सहभागी बनेका थिए ।