
काठमाडौं, भदौ ८ । ताप्लेजुङमा ४.५ रिक्टर स्केलको भूकम्प गएको छ ।
शुक्रबार साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको याम्फुदिन केन्द्रबिन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए ।
यो गोरखा भूकम्प (७.६ रिक्टर स्केल)को परकम्प नभइ भूकम्प नै भएको उनले बताए ।
ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ ।
गोरखा भूकम्पको परकम्प पनि पातलोरुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईओटा परकम्प गएको थियो ।
पछिल्लोपटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भइ ४.२ रिक्टर स्केलको परकम्प गएको थियो ।
त्यसअघि, साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४.८ रिक्टर स्केलको परकम्प गएको थियो ।
असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४.१ र ५ रिक्टरको परकम्प गएको थियो ।
वि.सं. २०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दामाथिका ५०६ ओटा परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्