
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, भदौ ८ । कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा स्थानीय वासिन्दाले गर्दै आएको प्रदर्शनकाक्रममा शुक्रबार पनि झडप हुँद एकजनाको मृत्यु भएको छ ।
शुक्रबार अपराह्न महेन्द्रनगरमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागी घाइते भएका खुनाको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले झडपमा उनी घाइतेमात्रै भएको र उपचारका लागि भारत लैजाने भन्दै मृतकको शव नै गायब बनाएको दाबी स्थानीयले गरेका थिए । तर, उनको शव अस्पतालको शवगृहमै रहेको जनाइएको छ ।
यसअघि, गोली लागेर १७ वर्षीय चेतन भट्टको मृत्यु भएको भनिएकामा उनी सामान्य घाइतेमात्रै रहेको प्रहरीले जनाएको छ ।
गोली लागेर अरु १० जना बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार अपराह्नदेखि लगाइएको कर्फ्यु शुक्रबार बिहान हटाइएपछि दिनभर सामान्य प्रदर्शनमात्रै भइरहेकोमा अपराह्न अचानक स्थिति भड्किएको हो ।
नेपाल विद्यार्थी संघको आह्वानमा जिल्ला प्रशासन कार्यालयअगाडि भएको प्रदर्शन झडपमा परिणत भएको हो ।
नेकपाका नेता भीम रावलले स्थानीय वासिन्दाको प्रदर्शनलाई राजनीतिक रङ दिन खोजेको भन्दै नेविसंघले विरोध प्रदर्शन आह्वान गरेको हो ।
प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भीमदत्तनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यसैबीच, निर्मलाको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि मैनालीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समिति कन्चनपुर पुगेर काम थालेको छ ।
प्रतिक्रिया दिनुहोस्