
विनोद सिंह विष्ट
बैतडी, भदौ ७ । बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो वास्तविक खर्च विवरण बुझाएका छैनन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गएको रकमको खर्च विवरण बुझाएको भए पनि स्थानीयतहहरुले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीले बताए ।
कार्यालय प्रमुख जोशीका अनुसार साउन मसान्तसम्म स्थानीय तहहरुले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो । तर अहिलेसम्म पनि नबुझाएकोले एक हप्ताको समयसँगै फारमको नयाँ ढाँचा सबै स्थानीय तहलाई दिएको कार्यालय प्रमुख जोशीले बताए । उनले भने, ‘सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।’
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले पनि खर्च विवरण एक हप्तासम्म बुझाउने बताएका कार्यालय प्रमुख जोशीले बताए ।
बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस्