
काठमाडौं । चेक बाउन्स ठूलो समस्याको रुपमा देखिएको छ । बाउन्स चेकको मुद्दा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ । शान्ति सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने प्रहरी बैंकिङ अपराधको चाप धान्न हम्मेहम्मे हुँदा कठिन भएको छ नै, पीडितले अपेक्षित न्याय पाउन सकेका छैनन् । बैंकिङ अपराध यति बढेको छ कि प्रहरीको स्रोत साधनले भ्याउन छोडेको छ ।
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा आफ्नो बैंक खातामा पैसा नभएको अवस्थामा चेक लेखेर दिनु हुँदैन भन्ने उल्लेख छ । खातामा पर्याप्त पैसा नभएको जानी जानी चेक जारी गरेमा बैंकिङ कसुरमा चेक काट्ने व्यक्तिलाई सजायको व्यवस्था छ । त्यस्तो, चेक जारी गर्नेलाई बिगो भराइ बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्छ ।
यस्तो, सजाय हुँदा पनि पछिल्लो समय बैंकिङ कसुर अपराधमा वृद्धि हुँदै गएको र पीडितले पहिलो पटक चेक बाउन्स गराएको मितिले एक वर्षसम्म बैंकिङ कसुर अन्तर्गत मुद्दा गर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली बताउनुहुन्छ ।
प्रहरीले दिएको तथ्यांक अनुसार चालू आर्थिक वर्ष काठमाडौं प्रहरी परिसरमा २ सय ८० मुद्दा दर्ता भएको छ भने ८५ जना पक्राउ, २ सय ५० फरार छन् । अघिल्लो वर्ष फरार ५० जना यो वर्ष पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख छ ।
यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरले १ सय ८६ मुद्दा दर्ता गरेकोमा २८ जना पक्रिएको जनाएको छ । १ सय ५८ जना अझै फरार छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले १ सय १५ मुद्दा दर्ता गरेकोमा पक्राउ ६ जना मात्र पक्राउ परेको छ । १ सय ९ जना अझै प्रहरीको फरार सूचीमा रहेको तथ्यांक छ ।
प्रहरी कार्यालयमा आउने सबै उजुरी एकैपटक दर्ता नहुने आएको उजुरी उपर प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर छलफलबाट नटुङ्गीए मात्र दर्ता हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता मैनाली बताउनुहुन्छ ।
पछिलो समय जग्गा किनबेचमा रकम नभएको चेक दिएर जग्गा पास गरेर लिने ठगहरुको गिरोह सक्रिय देखिन थालेकाले बैंकिङ कारोबार पनि सुरक्षित नभएको प्रहरी विश्लेषण छ । प्रहरीले घर जग्गा बिक्री गर्दा खातामा पैसा भए नभएको यकिन गर्न आम नागरिकलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्