Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर बन्न सरकारलाई कांग्रेसको खबरदारी


0
Shares

काठमाडौं, असार २ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश तथा विदेशबाट ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी, मुख्यमन्त्रीको माध्यमबाट ज्ञापनपत्र बुझाउँदै कांग्रेसले ‘क्वारेन्टिन’ व्यवस्थापन तथा संक्रमण नियन्त्रणमा पारदर्शी बन्न माग गरेको छ ।

मुख्यमन्त्री शेरधन राईलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलले क्वारेन्टिनमा महिलाको बलात्कार हुँदासमेत सरकार मौन बसेको आरोप लगाएको छ ।

कोरोना नियन्त्रणको नाममा खर्च भएको रकम पारदर्शी नभएकोमा कांग्रेसले सरकारको आलोचना गरेको छ ।

संकटको समयमा सरकार भ्रष्ट बन्नु, जनस्वास्थ्यको विषयमा खेलबाड गर्नु सरकारको असफलता भएको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाली कांग्रेस प्रदेश–२ संसदीय दलले कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढिरहेको भन्दै तत्काल ‘आइसोलेसन’ र क्वारेन्टिनको संख्या वृद्धि गर्न माग गरेको छ ।

संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको ज्ञापनपत्रमा क्वारेन्टिनहरुमा खानेपानी, शौचालय, स्वास्थ्यकर्मीका साथै खानेकुराको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

वाग्मती प्रदेश संसदीय दलले पनि भ्रष्टाचारमा लिप्त सरकार कोरोना संक्रमण नियन्त्रणमा पूर्ण असक्षम भएको भन्दै १४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै सिंगो अर्थतन्त्र उकास्नेतर्फ सरकारको ध्यान नगएको बताए ।

यता, गण्डकी प्रदेश संसदीय दलले भने सरकार स्वप्रंशसामा रमाएर कार्यान्वयनको पाटो भने कमजोर भएको भन्दै ज्ञापनपत्रमार्फत् सरकारको कार्यक्षमतामा खेद प्रकट गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमार्फत् प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाउँदै एक घर एक ‘पीसीआर’ परीक्षण गर्नुपर्ने, ‘डेडिकेटेड’ अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसीयुलगायत अत्यावश्यक स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापन गर्न माग गरिएको छ ।

प्रदेश–५ मा पनि कांग्रेसले मुख्यमन्त्री शंकर पोखरललाई ध्यानाकर्षणपत्र बुझाउँदै महामारी नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको जनाएको छ ।

उता, मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिम कांग्रेस संसदीय दलले कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाउन माग गरेको छ ।

परीक्षणको दायर बढाउन तथा क्वारेन्टिन व्यवस्थापन र विपन्न जनसमुदायलाई राहतको व्यवस्था गर्नपनि माग गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल बनेको निष्कर्ष निकालेको कांग्रेसले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

भिडियो हेर्नुहोस्