Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा


637
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दावी गर्नुभयो ।

उहाँले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको बताउनुभयाे । अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको समेत उहाँले जिकीर गर्नुभयो । उहाँले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शासह थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताउनुभयो । उहाँले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्यूनिकरणका लागि पहल हुन नसकेको बताउनुभयो ।

महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको बताउनुभयाे । प्रधानमन्त्री शेरबहादुर देवाले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनिकरण गर्ने अभियान सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दवाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गर्नुभयो ।

उहाँले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकीर समेत गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बिमा विधेयक, ऐन लागू भएको भए बिमा गरेका नेपाली नागरिकहरुले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दावी समेत गर्नुभयो।

महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरुले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको बताउनुभयो ।