
चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आजदेखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गराएको छ । माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो ।
संघले विरोध स्वरुप आज (मंगलबार) चितवनका सबै सुनचाँदी पसल बन्द गरेको छ ।
आन्दोलनको कार्यक्रम अनुसार भोली (बुधबार) पनि पसल बन्द रहने संघका अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिए ।
राज्यलाई आफूहरुको माग बारे दवाब दिन दुई दिन पसल बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
संघका अध्यक्ष सदाशंकरले सरकारसंग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरिएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
उनले चाँडबाडको बेला सुनको माग झनै बढेकोले सरकारलाई दवाब स्वरुप पसल बन्द गरिएको बताए ।
उनले प्रयाप्त मात्रामा सुन नआएकोले ग्राहकहरुलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताए ।
‘माग बढ्दो छ, ग्राहकलाई मागेजति सुन उपलब्ध गराउन सकेका छैनौं’–अध्यक्ष सदाशंकरले भने ।
उनले बजारबाटै खरिद भएका सुनचाँदीबाट केही मात्रामा भएपनि बजार धान्ने गरेको बताए ।
व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको आरोप लगाएका छन् । राष्ट्र बैंकले चितवनमा सातामा २ केजी मात्रै सुन उपलब्ध गराउने गरेको छ ।
तर यहाँको माग ५ केजीसम्म भएकोले बजारमा सुन अभाव भएको अध्यक्ष सदाशंकरको भनाई छ । चितवनमा करिव ५ सय सुनचाँदी पसलहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्