
काठमाडौं, जेठ ३१ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत् स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ ।
नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम् प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबारै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न निगम र हिमालयन एअरलाइन्सलाई अनुरोध गरेका थिए ।
विभिन्न देशमा रहेका नेपालीका पीरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै ‘चार्टर’ उडानको भाडादर घटाउने निर्णय लिएको स्पस्ट गरेको छ ।
सो निर्णयबाट विशेषगरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्