Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


सुधारिँदै लुम्बिनी प्रादेशिक अस्पताल


0
Shares

प्रदीप आचार्य (इमेज)

बुटवल, जेठ ३१ । लामो समयदेखि राजनीतिको चेपुवामा पर्दै आएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भौतिक संरचना निर्माणका कामले गति लिन थालेको छ ।

महामारीको बेला पनि अहिले विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् भने बिरामीको उपचार सहज बनाउने प्रयासहरु थालिएका छन् ।

१०९ वर्षे इतिहास बोकेको लुम्बिनी प्रादेशिक अस्पताल कुनैबेला ‘रिफर सेन्टर’जस्तै बनेको थियो । उपचारका लागि आउने बिरामीहरुलाई अरु अस्पताल देखाउने गरिन्थ्यो ।

तर, अहिले यस्तो स्थितिमा केही सुधारका संकेतहरु देखिएका छन् । अहिले अस्पतालमा धमाधम भौतिक संरचनाका कामहरु भइरहेका छन् ।

माघ महिनाको सुरुमै नयाँ संरचनाको गुरुयोजना सार्वजनिक गरेको अस्पतालले गुरुयोजनाका कामसँगै अरु नियमित कामहरुमा समेत सुधारमा ध्यान दिएको छ ।

‘लकडाउन’मा अस्पतालले आकस्मिक र प्रसूति सेवामात्रै सञ्चालन गरेको थियो ।

तर, अहिले सामाजिक दूरी र आवश्यक सावधानीसहित ‘ओपीडी’ सेवासमेत सञ्चालन गरिएको छ ।

यसअघि, एउटै ओपीडीमा दुई/तीनजना चिकित्सक रहेर बिरामीको उपचार गर्ने गरेकोमा अहिले तयार गरिएको संरचनामा एक चिकित्सकले एकजना बिरामीलाई उपचार गर्नेगरी संरचना बनाइएको छ ।

ओपीडी कक्षमा बिरामीको चाप कम गर्न र भौतिक दूरी कम कायम हुनेगरी नयाँ संरचना तयार गरिएको हो ।

निर्माण गरिएका नयाँ संरचनामा स्यानिटाइजर टनेल, बिरामी कुरुवाका लागि छुट्टै कक्ष छन् भने संक्रमणको जोखिमलाई ध्यान दिँदै ज्वरोका बिरामीका लागि अलग्गै क्लिनिक पनि बनाइएको छ ।

अस्पतालमा १५ दिनभित्र ‘पीसीआर’ मेसिन खरिद गरी शंकास्पद र ‘इमरजेन्सी’ बिरामीको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

अस्पतालले १४ अर्ब रुपैयाँमा अन्र्तराष्ट्रिय मापदण्डअनुसारको १० तलाका दुईवटा अत्याधुनिक भवन बनाउने योजना अघि सारेको छ । यो योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भिडियो हेर्नुहोस्