३० असार २०८२, सोमबार | Mon Jul 14 2025


ताप्लेजुङमा रोपाइँको रन्को (भिडियो)


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, जेठ ३० । कोरोनाको सन्त्रासलाई भुल्दै ताप्लेजुङका किसानहरु रोपाइँमा व्यस्त हुन थालेका छन् ।

‘लकडाउन’ जारी रहेपनि ताप्लेजुङका किसानहरु भने बिहानदेखि साँझसम्म खेतबारीमै व्यस्त देखिन्छन् ।

कोरोनाको संक्रमणले मुलुक लकडाउनमा रहेपछि दुई महिनासम्म घरैमा बसेका ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दा यतिबेला खेतीपातीको काममा व्यस्त हुन थालेका छन् ।

मानो खाएर मुरी उब्जाउने समय आएपछि कोरोनाको त्रासलाई भुलेर पनि उनीहरु बिहानदेखि साँझसम्म खेतबारीको काममा व्यस्त देखिएका हुन् ।

जिल्लाका सिचाइँ उपलब्ध ठाउँमा रोपाइँ सुरु भएको छ भने अन्य क्षेत्रमा खेत सम्याउने, खनजोत र मलजल लगाउनेजस्ता काम धमाधम भइरहेका छन् ।

संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गरेर पनि किसानले खेतबारीको काम गरिरहेका हुन् ।

पछिल्लो समय युवाहरु सहरतिर केन्द्रित भएका कारण गाउँघरमा काम गर्ने जनशक्ति नभएकाले बेलैदेखि खेतीपातीमा किसान जुट्ने गरेका छन् ।

पहिले–पहिले ज्यालामा कामदार पाउने गरेपनि आजकल ज्यालामा कामदार पाउन छाडेको छ ।

कृषि क्षेत्रमा प्रशस्त सम्भावना भएपनि पर्याप्त जनशक्ति नहुँदा र आधुनिक प्रविधिको प्रयोग नहुँदा समस्या छ । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा स्थानीयको जोड छ ।

यता, काम गर्ने उमेरका युवा गाउँबाट सहर पलायन हुँदा उत्पादनसमेत घट्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

ताप्लेजुङमा आठ हजार ६५३ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ भने १९ हजार १२० मेट्रिकटन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्रसार अधिकृत विनय महर्जनले बताए ।

संक्रमणकाबीच पनि आफू बाँच्न र अरुलाई बचाउन किसान खेतबारीमा तल्लिन छन् । कृषिले नै जीवन बाँचेको छ र मुलुकको अर्थतन्त्रलाई उकास्न पनि मद्दत गरेको छ ।

यसैले किसानका समस्यालाई पनि सरकारले बुझ्न र परिस्थिति हेरी सहयोग गर्न आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्