
काठमाडौं, जेठ २९ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यवाहक अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको पाँचौं पुण्यतिथिमा उनको सम्झना गरिएको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रद्धाञ्जलि सभा आयोजना गरी सम्झना गरेको हो ।
श्रद्धाञ्जलि सभामा एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, थ्रीस्टार क्लबका पदाधिकारीलगायतले एन्फा कम्प्लेक्स परिसरमा रहेको श्रेष्ठको प्रतिमामा फूलमाला माल्यार्पण गरेका थिए ।
कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पा, थ्रीस्टारका अध्यक्ष अरुणमान जोशीलगायतले नेपाली फुटबलमा श्रेष्ठले दिएको योगदानबारे चर्चा गरेका थिए ।
वि.सं. २०७२ सालमा करेन्ट लागेर निधन भएका श्रेष्ठको सम्झनामा एन्फाले हरेक वर्ष ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।
यस वर्ष भने कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता हुनसकेको छैन । परिस्थिति सहज भएपछि प्रतियोगिता आयोजना गरिने एन्फाले बताएको छ ।
फिफा वरीयतामा नेपाल यथावत्
यसैबीच, फिफा वरीयतामा नेपाल यथावत् रहेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल गत महिनाजस्तै १७०औं स्थानमा रहेको छ ।
नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।
विश्वभर कोरोनाको असर रहेकाले फुटबलका गतिविधि ठप्प हुँदा वरीयतामा पनि फेरबदल नभएको हो ।
प्रतिक्रिया दिनुहोस्