२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आयल निगममा इआरपी सिस्टम जडानको तयारी धमाधम, तेल चोरी र मिसावट बन्द हुने


0
Shares

काठमाडौं । तेल चोरी तथा मिसावट रोक्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानको लागि काम अगाडि बढाएको छ ।

भारतबाट तेल ढुवानी गर्दा बीच बाटोबाट नै तेल चोरी हुने तथा तेलमा पानी लगायतका बस्तुहरु मिसावट गर्ने गरेको गुनासो आइरहेकाले इआरपी सिस्टम जडान गर्ने तयारी निगमले थालेको हो । विश्वका विकसित देशहरुमा प्रयोगमा आएको यो डिजिटल सिष्टम निगमले २८ करोड रुपैंयाँको लागतमा संचालनमा ल्याउन लागेको हो ।

निगमको कामलाई छिटो, छरितो तथा व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयलाई समेत दवाब बढेसँगै इआरपी सिस्टम जडानको लागि टेन्डर भएर मूल्याङ्कनको अन्तिम चरणमा पुगिसकेको छ ।

मेनुयल सिस्टमबाट कम्युटरकृत सिस्टममा जाँदा निमगको लागत घट्ने, अटोमेसनको बाटो खुल्ने, न्यूनतम ३० प्रतिशत जनशक्ति घट्ने भएकाले निगमलाई थप फाइदामा लैजान सहज हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले बताउँछन् ।

इआरपी सिस्टम जडान गरेर प्रयोगमा ल्याइसकेपछि तेल चोरी, मिसावटका सबै बन्द हुने, भेकल ट्रयाकिङ गर्न सकिने र अनुगमन गर्न सजिलो हुने भएकाले पारदर्शी रुपमा काम हुने कार्यकारी निर्देशक पौडेलको बुझाइ छ ।

यसअघि तेलमा हुने चोरी तथा मिसावटलाई हटाउन भन्दै मेकानिकल लकिङ् सिस्टम निगमले सुरु गरे पनि मिसावट र चोरीका घटनामा भने खासै कमी आउन नसकेको गुनासो बढ्दै गएको थियो । अब इआरपी सिस्टम जडानको प्रक्रिया अघिबढेसँगै आयल निगम भित्र हुने अनियमितता पनि रोकिने विश्वास छ ।

निगमबाट नियमित विविध माध्यमबाट लाभ लिइरहेको समूह यो सिस्टम जडान गरेपछि निरुत्साहित हुने अनुमान गरिएको छ । तर यसपटक टेन्डर भइसकेर मुल्याङ्कनमा गइसकेको कारण यसपाली टेन्डर स्वीकृत भएर निगम अटोमेशनको लागि बाटो खुल्नेमा कार्यकारी निर्देशक पौडेल विश्वस्त छन् ।

इआरपी सिस्टमको फाइदा 

इआरपी सिस्टम एउटा यस्तो सिस्टम हो जसले कम्पनीलाई एकीकृत व्यवस्थापन गर्ने छ । अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त तेल बिक्री बितरण गर्ने पम्पहरु कारवाहीको दायरामा आउने छन ।

सिस्टम जडान सफल भएमा वर्षौंदेखि मेनुयल रुपमा हुँदै आएको कामकाज समेत कम्युटरकृत हुनेछन् । अर्बौंको कारोबार हुने निगममा सिस्टम अपग्रेट नहुँदा अस्तब्यस्त ढंगले आर्थिक कारोवारहरु कागजी ढड्ढामा मेनुयल रुपमा डिपोहरुले गर्दै आएकामा त्यो रोकिने छ ।

मेकानिकल लकिङ् सिस्टम निगमले सुरु गरे पनि मिसावट र चोरीका घटनामा भने खासै कमी नआएपछि सुरु हुन लागेको यो सिष्टम जडानपछि सरकारको ढुकुटीमा सबैभन्दा धेरै आम्दानी गर्ने मध्येको एक निगमको कामकाजलाई प्रविधिमैत्री बनाउँदै परिस्कृत बनाउन सकिने निगमका कर्मचारीहरु बताउँछन् ।

कार्यकारी निर्देशक पौडेलले भने, ‘सकारात्मक ढंगले  निगमका कामकाजहरु अगाडि बढाउन लागिरहेको छु । निगमको आवश्यकता के छ भनेर काम अगाडि बढाउन खोजेको छु । जतिसक्दो चाँडो अटोमेशनमा जानु पर्नेछ । पुराना कागजी ढड्ढाबाट गरिँदै आएका कामहरु अबको दिनमा अपग्रेड गर्दै अझै सुरक्षित, छिटो, छरितो बनाउन कम्प्युटरकृत गर्दै जानुको विकल्प छैन ।’

सरकारले पनि आगामी बजेटमा तेल भण्डारणको लागि पूर्वाधारहरु निर्माण गर्न प्राथमिकतामा राखेको छ । तीन वर्षमा पूर्वाधारमा ठूलो लगानी गरेर भविष्यमा पेट्रोलियम पदार्थलाई सहज बनाउन योजना ल्याउनुपर्ने सुझाव छ । अबको दिनमा मेनुयल इन्टरभेन्सन हटाउँदै अटोमेशनमा जानको लागि क्रमबद्ध तरिकाले योजना बनाएर आयल निगम अगाडि बढिरहेको निगमकै कर्मचारीहरु बताउँछन् ।

देशभर अहिले १ हजार चार सय वटा भन्दा बढी पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ । आफ्नो अनुकूल हेरेर तेल हुँदा हुँदै पनि तेल पम्प बन्द गर्ने जस्ता कार्यहरु हुँदै आएका छन् । निगममा मेनुयल सिस्टम भएका कारण अनुगमन गर्न कठिनाई परेको छ ।

अबको तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भैसकेको हो ।  यो सिस्टम जडान भइसकेपछि म्यानेजमेन्ट इन्फरमेशन सिस्टम, एकाउन्टिङ सिस्टम, सुरक्षित डाटा भण्डारण लगायतका कार्य डिजिटल नै हुनेछन् ।

 सिस्टम बनेपछि एक क्लिकमा देशभरको तथ्याङ्क (डाटा) हेर्न सकिने इन्जिनियरिङ तथा परियोजना विभागमा उपनिर्देशक मनोजकुमार ठाकुरले बताए । उनका अनुसार यो सिस्टम लागु भएपछि ‘इ लकिङ सिस्टम’ हुनेछ ।

भारतबाट ट्याङकर आउँदा ट्याङकर कहाँ आइपुग्यो, निर्धारित बाटो भन्दा बाहिर गए नगएको सबै थाहा हुन्छ । साथै ट्याङकरमा कति तेल छ भनेर समेत अनुगमन गर्न सकिनेछ ।

सिस्टमले नेपालभित्र मात्रै हैन भारतको बैरेनीबाट तेल लिएर आउँदा भारत भूमिमा समेत ट्याङ्करको अवस्था ट्रयाक गर्ने हुँदा तेल चोरी र मिसावट घटाउने ठाकुरको दावी रहेको छ । निगमको सबै काम मेनुयल नै हुँदै आएकामा कम्प्युटरकृत सिस्टममा जाँदा लागतमा कटौती हुने हुँदा निगमको खर्च समेत घट्ने छ ।

चलखेल अन्त्य

यतिबेला नेपाल आयल निगमा मेनुयल सिस्टमबाट काम हुँदा एउटा समूहले वर्षौंदेखि आर्थिक लाभ लिइरहेको छ । सिस्टम परिर्वतन गरेर इआरपी र अटोमेशनमा जान भने स्वार्थी समूहका कारण निगमलाई निकै नै चुनौती देखिएको छ ।

पहिला पनि उक्त समूहले पटक पटक निगमलाई अपग्रेट गर्ने प्रयासहरु बिफल बनाइएको छ । उदयपुर सिमेन्टमा रहेको बेला राम्रो काम गरेको भनेर चर्चामा आएका पौडेल निमगको कार्यकारी निर्देशक भएको बेलामा मेनुयल सिस्टमलाई कम्प्युटरकृत प्रणालीमा लैजानुपर्ने चुनौतीलाई कसरी चिर्ने भन्ने काममा गम्भीर बनेर लागेका छन् । 

विभिन्न डिपोहरुको मिलोमतोमा ट्याङ्कर व्यवसायीहरुले मेकानिकल लकिङ् सिस्टम खोल्न सक्ने ‘मास्टर कि’ समेत चोरी गरी लकिङ् सिस्टम खोलेर मिसावट गर्ने गरेका गुनासाहरु अन्त्य गर्न , इआरपी सिस्टम जडान गर्न भएका प्रयासहरु सफल हुन नदिने चोरीमा संलग्न गिरोहले माथिल्लो तहसम्म गर्ने चलखेल रोक्न पनि कार्यकारी निर्देशक पौडेलको प्रयास सार्थक हुने अनुमान पनि गरिएको छ ।