२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


साउदी, मलेसिया र कतारबाट स्वदेश फर्कन करिब २३ हजार नेपालीले दिए आवेदन


0
Shares

काठमाडौं, जेठ २३ । साउदी अरब, मलेसिया र कतारबाटमात्र नेपाल फर्कन करिब २३ हजार नेपालीले आवेदन दिएका छन् ।

श्रम रोजगार पत्रकार समूहले शुक्रबार कतार, मलेसिया र साउदीका राजदूतसँग गरेको छलफलमा राजदूतहरुले उक्त जानकारी दिएका हुन् ।

साउदीबाट करिब १० हजार, मलेसियाबाट सात हजार र कतारबाट करिब छ हजार नेपालीले नेपाल फर्कन माग गर्दै आवेदन दिएको जनाइएको छ ।

यसमा भिसा अवधि सकिएका, बिरामी, विद्यार्थी तथा रोजगारी गुमेकाहरु रहेका छन् ।

साउदीमा रहेका करिब सवा तीन लाख नेपालीमध्ये १० हजारले नेपाल आउनका लागि फाराम भरेका साउदीका लागि नेपली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्धाजले त्यहाँबाट छ हजार नेपालीले स्वदेश फिर्तीका लागि निवेदन दिएको जानकारी गराए ।

उनीहरु सबैको स्वास्थ्य परीक्षण रिपोर्टसहित नेपाल फिर्ता गर्न भने नसकिने उनको भनाइ छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले करिब सात हजार नेपालीले स्वदेश फिर्तीका लागि आवेदन दिएको बताए ।

टिकेटिङमा समस्या हुनसक्ने भएकाले नियमित उडान गर्नसके सहज हुने उनले उल्लेख गरे ।

‘पीसीआर’का लागि खर्चको समस्या हुनसक्ने भन्दै ‘आरडीटी’ परीक्षण गरेर नेपाल फिर्ताका लागि तयारी भइरहेको पनि पाण्डेले जानकारी दिए ।