काठमाडौं, जेठ २३ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले कोरोनाभाइरसका कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिकको बिमा दाबी गर्ने भएको छ ।
टोकियो ओलम्पिक एक वर्ष पर धकेलिँदा अर्बाैंको नोक्सानी भएको भन्दै आईओसीले बिमा दाबी गर्न लागेको हो ।
तर, बिमाबापत् कति रकम दाबी गर्ने भन्नेबारे आईओसीले केही बताएको छैन ।
आईओसीका ओलम्पिक खेल निर्देशक पिएरी डुर्सेकाअनुसार कोरोनाका कारण एक वर्ष पर सरेको टोकियो ओलम्पिकबाट भएको घाटालाई कम गर्न बिमा दाबी गर्न लागिएको हो ।
आईओसीले आफ्नो बिमा पोलिसीमा ओलम्पिक रद्द भएको अवस्थालाई कल्पना गरेपनि स्थगितका विषयमा केही उल्लेख छैन ।
यसअघि, ब्राजिलको रियो दी जेनेरियोको ओलम्पिकमा एक करोड ४० लाख डलरको बिमा गरिएको थियो ।
गत महिना आईओसीले ओलम्पिक स्थगित भएका कारण हुनसक्ने बढी खर्च व्यवस्थापनका लागि ६५० मिलियन डलर छुट्याएको थियो ।
टोकियो ओलम्पिकका लागि अहिलेसम्म १४ अर्ब डलर खर्च भएको बताइएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्