Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल


468
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभाकाे सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ ।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्ने गरेको बताउनुभयाे।

उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले चुनावलाई लक्षित गरेर बस्ती-बस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो । त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिनुभयो ।