काठमाडौं, जेठ २० । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले विदेशमा रहेका नागरिकलाई ल्याइ सुरक्षितरुपमा ‘क्वारेन्टिन’मा राख्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकमा समिति सभापति विमलप्रसाद श्रीवास्तवले कोरोना संक्रमणका कारण स्वदेश आउनुपर्ने अवस्थाका नागरिकलाई महामारी फैलन नदिने गरी सुरक्षित क्वारेन्टिनमा राख्न र स्वास्थ्य परीक्षण गर्ने तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गराउनुपर्ने बताए ।
उनले सरकारले अन्य स्रोत रोकेर भएपनि राज्यको सम्पूर्ण शक्ति मानिसको ज्यान बचाउन लगाउनुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जो व्यक्ति आउन चाहेका छन्, उनीहरुलाई ल्याइने बताए ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २५ हजारमात्रै ल्याउने नभइ यो संख्या बढ्न पनि सक्ने उनको भनाइ थियो ।
पर्यटनसचिव केदारबहादुर अधिकारीले स्वदेश फर्कनेलाई राख्न होटलहरुमात्रै सहमत भएको बताए ।
सरकारले जारी गरेको निर्देशिकाअनुसार भारत तथा तेस्रो मुलुकबाट स्वदेश भित्रिने नागरिकको विवरण तयार गर्नुपर्ने, होल्डिङ सेन्टरमा राख्नुपर्ने, क्वारेन्टिन व्यवस्थापन, शव व्यवस्थापन तथा खर्च व्यवस्थापनलगायतका व्यवस्था रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्