२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विदेशबाट नागरिक फर्काउने यस्तो छ, सरकारको तयारी


13
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, जेठ १९ । सरकारले कोरोनाभाइरसको संक्रमणका कारण स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

खाडी तथा अन्य मुलुकमा रहेका करिब ६ लाख नेपाली तत्काल स्वदेश फर्कन चाहेकाले सोहीअनुसार नै व्यवस्था गरी अबको एक हप्ताभित्र नेपाल ल्याउने श्रम मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्कन चाहनेलाई फिर्ता ल्याउने पहल सुरु गरेको छ ।

स्वदेश फर्कन चाहने नागरिकले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी जुन देशमा रहेका छन्, सो देशको दूतावासले तोकेबमोजिम स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

सम्बन्धित देशको स्वास्थ्य निकाय वा दूतावासबाट स्वास्थ्य परीक्षणको प्रमाणपत्रको आधारमा मात्रै स्वदेश फिर्ता हुनसक्ने व्यवस्था गरिएको छ ।

कुनैपनि नेपाली नागरिक सम्बन्धित देशबाट फर्किएपछि सरकारले निर्धारण गरेको ‘क्वारेन्टिन’मा अनिवार्य बस्नुपर्ने छ ।

स्वदेश फर्कन चाहने नागरिकको अवस्था र आवश्यकताअनुसार विभिन्न १४ प्राथमिकतामा परेका नागरिकलाईमात्रै तत्काल फिर्ता गर्ने तयारी कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)ले गरेको छ ।

अहिले तत्काल स्वदेश फिर्ता हुन चाहने नागरिक कति छन् भन्नेबारे सम्बन्धित देशको दूतावासले प्राथमिकताको आधारमा विवरण संकलन गर्न थालिसकेको श्रम मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार तत्काल ६ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् ।

दैनिक १० ओटा उडानबाट २५ सयसम्म नेपाली ल्याउने तयारी गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

यसरी नेपाल फर्कनेहरुलाई प्रदेश नम्बर–१ र २ का नागरिकलाई भक्तपुरमा राखिने छ भने वाग्मती, गण्डकी र प्रदेश नम्बर–५ का नागरिकलाई काठमाडौंकै विभिन्न पार्टी प्यालेसमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरमा ‘होल्डिङ’ क्षेत्र बनाइ राख्ने तयारी भइरहेको छ ।

उनीहरुलाई होल्डिङ क्षेत्रसम्म लानुअघि विमानस्थलमा सामान्य स्वास्थ्य परीक्षण गरिने छ ।

तत्पश्चात् उनीहरुको पुनः स्वास्थ्य जाँच गरी स्वास्थ्य अवस्था ठिक भएमात्रै सम्बन्धित स्थानीय तहमा सरकारले नै सवारी उपलब्ध गराइ पुर्‍याउने छ ।

स्वेच्छाले स्वदेश फर्कने जोसुकै नागरिकले पनि फर्कंदादेखि घर नपुगुन्जेलसम्म आफैंले खर्च व्यहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्