
प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेटलाई पोखराका पर्यटन व्यवसायीले ‘हर्ष न विस्मात’ भनेका छन् ।
उनीहरुले कोरोना महामारीपछि मारमा परेको पर्यटन क्षेत्र चलायमान बनाउने गरी बजेटले सम्बोधन गर्नुपर्नेमा त्यसो नभएको गुनासो गरेका हुन् ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने विषयमा बजेट मौन रहेको व्यवासायीहरुको गुनासो छ ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले समग्रमा देशभरिको पर्यटन प्रवर्द्धनमा बजेट सन्तोषजनक रहेपनि गण्डकी क्षेत्रको पर्यटन प्रवर्द्धनलाई भने सम्बोधन नभएको टिप्पणी गरे ।
यस्तै, बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले कोरोनाबाट प्रभावित पर्यटनलाई प्रत्यक्ष राहतको गुञ्जायस नभेटिएको बताए ।
होटल संघका केन्द्रीय सदस्यसमेत रहेका पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरत पराजुलीले होटल क्षेत्रलाई संरक्षण गर्नेगरी बजेट नआएको प्रतिक्रिया दिए ।
हवाई सेवा, होटल, ट्राभल, रेस्टुरेन्ट, ट्रेकिङ, पर्वतारोहणलगायतका सेवा क्षेत्रको पुनःस्थापना गर्न कर, शुल्क, ब्याजलगायत सुविधाको व्यवस्था रहेको दाबी सरकारी पक्षको छ ।
प्रतिक्रिया दिनुहोस्