३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कस्तो आउला बजेट ?


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, जेठ १४ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी ‘लकडाउन’ले अर्थतन्त्र धरासायी बनिरहेको बेला सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दैछ ।

संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट करिब १६ खर्ब रुपैयाँको हाराहारीमा हुने अर्थ मन्त्रालयका अधिकारीरुले जानकारी दिएका छन् ।

लकडाउनको अवधिमा दैनिक तीन अर्ब रुपैयाँ घाटा भएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक र आर्थिक सूचकहरु ओरालो लागेको बेला सरकारले ल्याउने बजेटप्रति सर्वत्र चासो बढेको छ ।

कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ ।

शिथिल अर्थतन्त्र चलायमान बनाउन सरकारले स्वास्थ्य, कृषि, रोजगारी तथा साना तथा मझौला क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

कोरोनाका कारण पर्यटन, रेमिट्यान्स, औद्योगिक क्षेत्र, रोजगारी नराम्ररी प्रभावित भएको छ भने वैदेशिक व्यापारमा समेत प्रत्यक्ष असर परेको छ ।

प्रभावित क्षेत्र धरासायी हुन नदिने गरी सरकारले ब्याज सहुलियत, कर, विद्युत् तथा ऋण सहुलियत दिनुपर्नेमा अर्थविद्हरुले जोड दिँदै आएका छन् ।

महाव्याधीका कारण वैदेशिक ऋण तथा अनुदानमा कमी आउने देखिएकाले स्रोत व्यवस्थापनाको चापमा परेको सरकारले आन्तरिक ऋण उठाउनेदेखि फजुल खर्च कटौतीसम्मको योजना ल्याउने बताइएको छ ।

बजेटमा सानाभन्दा ठूला आयोजनालाई प्राथमिकता दिने, राष्ट्रिय गौरवका आयोजनामा लगानी वृद्धि गरिने अर्थ मन्त्रालयका जानकारहरुले बताएका छन् ।

कृषि तथा खाद्यान्न आयात कम गर्न कृषि क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भरोन्मुख अर्थतन्त्रतिर लैजाने गरी आगामी बजेट ल्याइने पनि स्रोतहरुले जनाएका छन् ।