कैलाली । बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् ।
गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भएको र अर्को आम्दानीको स्रोत नभएको स्थानीय यमुना बादीले बताइन् ।
“१५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले फर्केर आएन उनले भनिन् ।”
उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् ।
एक बादी महिलाले भनिन्, “पुरानो पेशा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्यौं अब भोकै बस्नुपर्ने अवस्था छ ।”
लामो समयको सङ्घर्ष र चेतनापछि समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो ।
तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन ।
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताउँछन् ।
बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताए ।
गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरीले बताउँछन् । रासस









प्रतिक्रिया दिनुहोस्