Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सिमानामा अलपत्र नेपालीहरुलाई गड्डाचौकी नाकाबाट भित्र्याउन थालियो


13
Shares

कञ्चनपुर, जेठ १२ । कञ्चनपुरको सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई गड्डाचौकी नाकाबाट भित्र्याउन थालिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले सीमापारी अलपत्र परेकाहरुलाई भित्र्याउने निर्णय गरेको थियो ।

सोमबार करिब एक हजार ५०० जनालाई स्वदेश ल्याउन थालिएको हो ।

भारतमा रोजगारी गुमेकाहरुलाई भारतीय पक्षले सीमानाकासम्म ल्याइदिएपछि उनीहरुलाई नेपाल भित्र्याउन लागिएको हो । नाकाबाट प्रवेश नदिँदा लुकीछिपी मानिसहरु नेपाल छिर्ने गरेका थिए ।

भारतीय सिमानामा मानिसको भीड बढ्दै गएपछि उनीहरुलाई गड्डाचौकी नाकाबाट ल्याउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

सोमबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुला गरी सीमापारी जम्मा भएकाहरुलाई भित्र्याउने र मंगलबारदेखि बिहान दुई घन्टा र बेलुका दुई घन्टा गरी दैनिक चार घन्टामात्रै प्रवेश गर्न दिइने पनि खतिवडाले बताए ।

नेपाल भित्रिनेहरुलाई सम्बन्धित स्थानीय तहहरुलाई जिम्मा लगाइने छ ।