काठमाडौं, जेठ १० । राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदु–उल–फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोनाभाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना संक्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरेका हुन् ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ ।
रमजानको सुरुका दिनमा पनि आयोगले कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।
सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुसी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न उनले आग्रहमात्रै गरेनन्, विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराए ।
उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एक–अर्कामा शुभकामना आदान–प्रदान नगर्न अनुरोध गर्दै देशको कुनैपनि ठाउँबाट आज चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबारमात्रै ईदु–उल–फित्रको नमाज आदा गरिने जानकारी दिए ।
इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन् ।
रमजानको अन्तिम दिन ईदु–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ । आइतबार रमजान महिनाको अन्तिम (३०औं) दिन हो । रासस









प्रतिक्रिया दिनुहोस्