प्युठान, जेठ १० । नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन सुरु गरेका छन् ।
भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आइ रोकिएकाहरु बिहीबारसम्म करिब ८०० प्युठानीलाई भित्र्याइएको हो ।
जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन् ।
जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन् ।
त्यसैगरी, स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहमा ल्याएर ‘क्वारेन्टाइन’मा राखेका छन् ।
स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले बताए ।
भारतका विभिन्न सहरमा रोजागारीका लागि गएकामा प्युठानका करिब ३१ हजार रहेको स्थानीय तहको तथ्यांक रहेको छ ।
भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए ।
‘सीमामा अलपत्र परेका नागरिकको उद्धार गरिरहेका छौं’–रोकायले भने–‘१४ दिन क्वारेन्टाइनमा राखी परीक्षणपछिमात्रै घर पठाउने छौं ।’
जिल्लामा ल्याइएका नागरिकको कुनै प्रकारको परीक्षण गरिएको छैन । परीक्षणविना भित्रिएका नागरिकको क्वारेन्टाइन बसाइँ अवधिभर कोरोना कोषको बजेटबाट व्यवस्थापन गर्ने गरिएको रोकायको भनाइ छ । रासस








प्रतिक्रिया दिनुहोस्