
काठमाडाैं । प्रतिनिधि सभा सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘धादिङ र नुवाकोट जिल्लाको सीमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भिर विवाद उत्पन्न भइ अवरोध सिर्जना भएको छ । सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिवद्धता र सम्झौताहरुको वेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरुको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न जोडदार माग गर्दछु।’
त्यस्तै, प्रतिनिधि सभा सांसद मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरुप केही दिन नसकेकाले सरकारको नाम छैन् बहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताउनुभयो । निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उहाँले बताउनुभयो।
त्यस्तै, प्रतिनिधि सभा सांसद मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, प्रतिनिधि सभा सांसद राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताउनुभयो । उहाँले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्