३० असार २०८२, सोमबार | Tue Jul 15 2025


पथलैया–वीरगन्ज औद्योगिक करिडोरका उद्योगमा कार्यरत् भारतीयहरु स्वदेश फर्कंदै


0
Shares

बारा, जेठ ७ । कोरोना संक्रमण बढेसँगै पथलैया–वीरगन्ज औद्योगिक करिडोरका उद्योगमा कार्यरत् भारतीय कामदारहरु आफ्नो देश फर्किन थालेका छन् ।

दुई दिनमै यहाँ कार्यरत् करिब एक हजार भारतीय प्राविधिक, मजदुरहरुले घर फर्कन प्रहरी र स्थानीय तहमा आग्रह गरेका छन् ।

योसँगै जिल्ला प्रशासन कार्यालयले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा प्रक्रिया थालेको जनाइएको छ ।

सरकारले तोकेको मापदन्डमा करिडोरका केही उद्योग सन्चालनमा आएपनि धेरै उद्योगहरु चल्न सकेका छैनन् ।

करिब २५ सय कामदार रहेको जगदम्बा स्टिल्स्ले उद्योगभित्रै श्रमिकलाई व्यवस्थापन गर्न नसक्ने भएपछि करिब ५०० श्रमिक भारत फर्कन चाहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी मापदन्डअनुसार उद्योगले कर्मचारी कामदारलाई आवासीयरुपमा परिसरभित्रै राख्नुपर्छ ।

भारतीय कामदारहरुले यसरी उद्योगभित्र बसेर काम गर्न नचाहेपछि घर फर्कन थालेको बताइएको छ ।

भारत फर्कन चाहने मजदुर र अन्य कामलेसमेत अड्केर बसेका भारतीयहरुलाई फर्काउन अहिले लगत लिने काम भइरहेको जिल्ला प्रशासन कार्यालयल बाराका उपसचिव कृष्ण गैरेले जानकारी दिए ।

करिडोरका फलाम, सिमेन्ट, स्टिललगायतका निर्माणजन्य उद्योगमा जोखिमयुक्त कामदेखि दक्ष प्राविधिकमा समेत भारतीयकै बाहुल्य रहँदै आएको छ ।