२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राष्ट्रिय सभामा सांसदको आक्रोशः ‘सिडिओले तास खेल्ने र रक्सी खाने साथिलाई पास बाँडे’


0
Shares

काठमाडौं, जेठ ७ । राष्ट्रिय सभामा सांसदहरुले कोरोना भाइरुस संक्रमण रोक्ने सरकारी कार्यशैलीविरुद्ध आक्रोश पोखेका छन् । सांसदहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन् ।

बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अलपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न भनेका हुन् । क्वारेन्टिनहरु गुणस्तरहीन भएकाले होटलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न पनि उनीहरुले सरकारलाई सल्लाह दिएका छन् । उनीहरुले कोरोना फैलन नेता, मन्त्री, सांसददेखि सिडयोसम्म दोषी रहेको आरोप लगाए ।

सत्तारुढ नेकपाकै सांसद रामनारायण विडारीले सरकारलाई हाम्रो र अर्काको भनेर नसोची काम गर्न सुझाउँदै नेता, मन्त्री, सांसद, सिडिओका कारण बढी कोरोना फैलिएको आरोप लगाए । उनले नेता, मन्त्री सांसद धेरै हिँड्नु भएन, उनीहरुका कारण पनि रोग फैलिएको आरोप लगाए ।

सरकार संवेदनशील नभएको आरोप लगाउँदै उनले भने ‘तास खेल्दाको साथि, रक्सी खाँदाको साथि जम्मैलाई पास बाँडिदिएछ अनि त टोलका दुई चार हजार भएका गुण्डाहरू गाडीका पास लिएर हिंड्नी, जनतालाई यत्रो आक्रान्त पार्ने ? अहिले पनि गृह मन्त्रालयको ध्यान जाओस् पासलाई बढो संवेदनशील भएर विचार गरी त्यो कार्य गरोस् ।’

सांसद हरिराम चौधरीले कोरोनाका कारण देश भयावह अवस्थामा पुग्न लागेको भन्दै भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न माग गरे । सुदूरपश्चिम प्रदेशका नागरिक भारतका विभिन्न ठाउँमा रहेको र उनीहरु घर फर्किने क्रम रहेकाले संक्रमणको जोखिम बढेको भन्दै उनले अस्पतालहरु व्यवस्थित बनाउन आग्रह गरे ।

३० लाख जनसंख्यालाई महाकाली अस्पतालले सुविधा दिन नसक्ने र निजी अस्पतालको अवस्था पनि नाजुक रहेकाले भेन्टिलेटरसहितको अस्पतालको व्यवस्था गर्न उनले माग गरे ।

सांसद जितेन्द्रनारायण देवले नेपालमा कोरोना महामारी उत्कर्षमा गइरहेकाले सरकारलाई गम्भीर बन्न आग्रह गर्दै भारतमा रहेका नागरिकलाई तत्काल फिर्ता ल्याउन माग गरे । कामविहीन भएर समस्यामा परेका आठ लाख नागरिक घर आउन चाहेकाले उनीहरुलाई तत्काल ल्याएर अभिभावकीय भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शेखरनारायण सिंहले आवश्यक मात्र परीक्षण किट उपलब्ध गराउन माग गर्दै दुई नम्बर प्रदेशमा अझै पनि किट पर्याप्त नरहेको बताए ।
सांसद नन्दा चपाईँले कोरोना लागेका र अन्य रोगीका बिरामीको उपचार अझै पनि एउटै अस्पतालमा भएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘कोरोना भाइरस र गर्भवती अस्पताललाई फरक फरक गरौँ, सबै प्रदेशमा सुत्केरी कोरोना र अरु रोगको उपचार गर्ने व्यवस्था होस् ।’