काठमाडौं, जेठ ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूभागसमेत समेटेर नक्शा सार्वजनिक गर्नुपर्ने प्रस्ताव आफ्नो रहेको दावी गरेका छन् ।
बुधबार प्रेस नोट सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्शा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्शा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको वैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।’
सरकारले पार्टीको निर्णय अनुसार लिम्पियाधुरासहितको नक्शा पारित गरेकाले कसैको देवत्वकरण जरुरी नरहेको टिप्पणी पनि उनले गरेका छन् ।
गौतमले भनेका छन्, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रियाअनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’
लिम्पियाधुरासहितको भूभाग समेटेर सरकारले पारित गरेको नेपालको नयाँ नक्शा बुधबार सार्वजनिक गरिँदैछ । नक्शा पारित गरिएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीनिकटका नेता कार्यकर्ताले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको प्रशंसा गरिरहेका सन्दर्भमा गौतमले विज्ञप्ति नै निकालेर सचेत गराएका हुन् ।
उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्शा सार्वजनिक गरेको पनि बताएका छन् । वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम स्वागतयोग्य भएको उनले बताएका छन् ।
यस्तो छ गौतमले जारी गरेको प्रेस नोटः
ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ ।
यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ ।
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।
वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।
अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।
हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
७ जेठ २०७७










प्रतिक्रिया दिनुहोस्