Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बैतडीमा नगरप्रमुख कुटिए


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, जेठ ६ । बैतडीमा एक नगरप्रमुखसहित दुईजना जनप्रतिनिधि कुटिएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा कुटिएका हुन् ।

नगरप्रमुख कुँवरमाथि सोमबार अपराह्न कार्यकक्षमै कुटपिट भएको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता दलबहादुर धामीले जानकारी दिए ।

स्थानीय युवाको एक समूहले नगरप्रमुख कुँवरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेको हो । कार्यालयको कम्प्युटर, ल्यापटप र कुर्सी–टेबुलसमेत तोडफोड गरिएको छ ।

आइतबार नगरप्रमुख कुँवरले इलाका हुलाक कार्यालयमा कार्यरत् दिलबहादुर धानुकमाथि कुटपिट गरेको भन्दै स्थानीय युवाले कार्यालयमा तोडफोड र जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात गरेको बताइएको छ ।

पुर्चौडीका स्थानीयसमेत रहेका धानुकसँग भएको विवादका क्रममा नगरप्रमुख कुँवरले कुटपिट गरेको र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्दा लगाइएको भन्दै धानुकका दुई छोरा र एक स्थानीयले आक्रोसित हुँदै नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै कर्मचारी र जनप्रतिनिधिमाथि हातपात गरेका छन् ।

नगरप्रमुख कुँवरको अवस्था सामान्य छ ।

मदिरा सेवन गरेका बेला आइतबार हुलाकका कर्मचारी धानुकलाई नगरप्रमुख कुँवरले हातपात गरेको आरोप तोडफोड गर्ने पक्षको छ ।

हातपात र कार्यालयमा क्षति गर्ने तीनजनालाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

स्थानीय रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।