१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एमसीसी जस्केलोबाट होइन मूलढोकाबाटै पारित गरिन्छः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) झस्केलोबाट होइन मूल ढोकाबाटै पारित गर्ने दृढता देखाएका छन् ।

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी प्रक्रिया पूरा गरेरै पारित गर्ने भन्दै भने, ‘जलविद्युतको धनी देश भनेर मात्रै हुँदैन, त्यसको व्यापार गर्ने बोलेर मात्रै हुँदैन । त्यसका लागि चाहिने प्रशारण लाइन बनाउनु पर्छ । प्रशारण लाइन एमसीसीले बनाए बनाउँछ । अरुले बनाए पनि बनाउँछ । कसैले नबनाए हामीले बनाउँछौँ ।’

सत्तारुढ नेकपाका सांसद झलनाथ खनाल, भीम रावलसहितले सरकारले एमसीसी चोरबाटोबाट पारित गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाएका थिए ।

एमसीसी अघिल्लो संयुक्त सरकारले गरेको निर्णय रहेको र अहिलेको सरकारले त्यसलाई कार्यान्वयन मात्रै गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सो सम्झौता कार्यान्वयन गरिन्छ । गरिएन भने सरकारले गरेका सम्झौता बेकार हुन्छन्, कुनै देशले आगामी दिनमा सम्झौता गर्न मान्दैनन् ।’

संसदमा छलफल गरेर यो विषयमा निष्कर्ष निकाल्न आग्रह गर्दै उनले भने, ‘एमसीसी सभामुखको टेबुलमा आइसकेको छ । दलभित्र छलफल गर्न सकिन्छ । तर संसदले निर्णय गर्नुपर्छ ।’