१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘मेरो सरकार चीनले जोगाएको होइन, नेपालको स्वाभिमानमाथि निम्छरा अभिव्यक्ति नदेउ’: प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारलाई चिनियाँ राजदूतले बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो सरकार चीनले जोगाइदिएको जस्तो ‘निम्छरो’ अभिव्यक्ति नदिन चेताएका हुन् ।

अध्यादेश प्रकरणसँगै सत्तारुढ नेकपाभित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्को रुपमा उठेपछि दबाबमा परेका समयमा उनले सचिवालयमा बहुमतसिद्ध गरेका थिए ।

सचिवालय बैठकअघि नेपालका लागि चिनियाँ राजदूतले नेकपा शीर्ष सबै नेतालाई भेटेर सरकार गिर्नबाट जोगाएको टिप्पणी भएको थियो । केही भारतीय विश्लेषकले ओली सरकार चीनले जोगाएको टिप्पणी गरेका थिए ।

त्यसै विषयलाई संकेत गर्दै संसदमा प्रधानमन्त्री ओलीले भने, ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’

आफ्नो राजीनामा मागेका डा. बाबुराम भट्टराईलाई जवाफ दिँदै बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘सायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।’

नेपालमा कुनै तानाशाहको उदय हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीलेभने, ‘कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’