
-प्रकाश नेपाल(ईमेज)
इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ स्थित पर्यटकीयस्थल तुम्लिङमा पर्यटकीय पार्क निर्माणमा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको छ ।
सीमा पिल्लरभन्दा तीन सय मिटर टाढा पार्क निर्माण सुरु भए पनि अनुमती नलिई काम थालेको भन्दै एसएसबीले अवरोध गरेको हो ।
सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ्ग क्षेत्रमा वैशाखको पहिलो साताबाट पार्क निर्माणको काम सुरु भएको थियो ।
तर एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफूलाई पहिले जानकारी हुनुपर्ने बताउँदै अवरोध गरेको हो ।
उता भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेको छ ।
यता दशगजा छोडेर सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाइने भएपनि सीमाबाट तीन सय मिटर छोडेर काम गर्दा पनि पार्क निर्माणमा भारतीय एसएसबीले अवरोध गरेको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।
अध्यक्ष राईले रोकिएको काम पुनः सुचारु गर्ने बारे पहल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्